इटहरी / शेयर बजारको गिरावटले यो साताको चौथो दिनसम्म नै निरन्तरता पाएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.०२ अंकले घटेर १५२६.५१ अंकमा ओर्लिएको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८५ अंकले घटेर ३२०.५३ अंकमा झरेको छ ।
पछिल्लो समय बजारको ‘सेन्टिमेन्ट हेर्दा घट्ने मुड देखिएको एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बताए । बजार घट्नुमा मुख्य तीन कारण रहेको घिमिरेको भनाई छ ।
बैंक वित्तीय संस्थाले अहिले पनि सहज रुपमा पैसा उपलब्ध गराउन नसक्नु, पूँजी वृद्धिका लागि निष्कासन गरेका हकप्रद र बोनस बजारमा सूचीकृत भएका कारण शेयरको आपूर्ति बढेको र बजारमा कम्पनीको पूँजी अनुसार प्रतिफल घटेको उनले बताए । यीनै कारणले तत्कालै शेयरमा लगानी गरेर मुनाफा कमाउने स्थिति नहुँदा लगानीकर्ताले शेयर खरिद गर्न रुची नदेखाएको घिमिरेको भनाइ छ । बुधबार १५९ कम्पनीका १० लाख ३१ हजार कित्ता शेयर ४२ करोड २६ लाख रुपैयाँमा खरिद बिक्रि भयो। जसमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर तीन करोड १० लाख रुपैयाँमा किनबेच भयो ।
दुई उपसूचक बढे पनि बजारको गिरावटलाई बुधबार रोक्न सकेनन्। बैंक ६.४७, होटल ९.६१, विकास बैंक १३.४१, जलबिद्युत ६.८६, फाइनान्स ३.८८, बीमा ४९.७ र लघुवित्त समुह १२.९३ अंकले घटेका छन्। उत्पादन मुलक २३.४८ र अन्य ०.५८ उपसूचक भने अंकले बढे । बुधबार सबैभन्दा बढी मल्टी पर्पोज फाइनान्सका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन्। सबैभन्दा बढी भार्गभ विकास बैंकका शेयर धनीले करिब आठ प्रतिशत गुमाए ।
शेयर बजारको गिरावट निरन्तर, कारोबार रकम पनि खुम्चँदै
previous post