धरान \ प्रधानमन्त्रीको भारत भ्रमणपछि छिमेकी मुलुक चीन कि भारतबाट पहिला रेल ल्याउने बहस चर्किरहँदा सोमबार धरानमा भने चिनियाँ पर्यटकलाई भित्र्याएर फाइदा लिने विषयले ठाउँ पायो ।
चीन सांस्कृतिक केन्द्र नेपालले निर्वाणा कन्ट्री क्लबमा आयोजित चीनलाई भेटौं कार्यक्रमको उद्घाटन सत्रमा चिनियाँ पर्यटकलाई प्रदेश १ मा पनि भित्र्याउनुपर्ने विषयले प्रवेश पाएको हो । सो केन्द्रका निर्देशक किन कुन सोङले धरानको सुन्दरताबाट आफू मोहित भएको धारणा राख्दै चिनियाँ जनतालाई धरानबारे जानकारी दिने र भविष्यमा पर्यटकका रूपमा भित्रिने बताए । केन्द्रले चीन र नेपालका जनताबीचको सम्बन्ध बढाउन पुलको काम गरिरहेको बताउँदै उनले चिनियाँहरू काठमाडौं र पोखरातिर मात्र जाने गरेको पनि बताए ।
‘धरान यति सुन्दर ठाउँ रहेछ, यहाँ भविष्यमा चिनियाँ जनतालाई पर्यटकको रूपमा ल्याउनुपर्छ,’ उनले भने, ‘अहिले त चिनियाँहरू पोखरा, काठमाडौंमा मात्र जान्छन्, यति सुन्दर धरानबारे जानकारी पाएपछि अवश्य नै भविष्यमा पर्यटक बनेर आउनेछन् ।’
केन्द्रका निर्देशक सोङले मात्र होइन, प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पनि उदाउँदो महाशक्ति राष्ट्र चीनबाट नेपालले आर्थिक, भौतिक विकासमा फाइदा लिनुपर्ने धारणा राखेका थिए । चीन समृद्ध र धनी हुँदा छिमेकी मुलुक नेपाललाई पनि फाइदा पुग्ने उनको भनाइ थियो । चीनले पनि आफू मात्र धनी हुने नभनी छिमेकी मुलुकलाई पनि धनी बनाउने नीति लिएको मन्त्री कार्कीको भनाइ थियो ।
‘चीन पाठशाला हो, हामीले जति सिक्न सक्छौं, उति नै फाइदा हुन्छ । चीनबाट हामीले हरेक क्षेत्रमा फाइदा लिनुपर्छ,’ मन्त्री कार्कीले भने ।
साताअघि चिनियाँ राजदूतसँग भेट हुदा पर्यटन र कृषिको विकासबारे राजदूतले गहिरो चासो र जिज्ञासा राखेको उल्लेख गर्दै मन्त्री कार्कीले यो दुवै क्षेत्रलाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको बताए । चीन सरकारबाट सहयोगको आवश्यकता रहेको पनि उनले बताए ।
सोही कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति महेशकुमार उपाध्यायले जनस्तरमा पनि सांस्कृतिक आदानप्रदान हुनुपर्ने धारणा राख्दै चीनले छिमेकी मुलुकलाई पनि धनी बनाउन चाहेकाले नेपालले फाइदा लिनुपर्ने बताए ।
वल्र्ड कल्चर नेटका अध्यक्ष दीपक सरदारले छिमेक भएर पनि चीनप्रति जनस्तरमा अनभिज्ञता रहेको भन्दै जनताबीचमा दुवै मुलुकबीच सांस्कृतिक आदानप्रदान गर्न र एकअर्कालाई बुझाउन अभियान थालिएको बताए ।
‘पहिला राजधानीमा मात्र यस्तो कार्यक्रम गरिन्थ्यो, अब देश संघीयतामा गएकाले सबै प्रदेशमा कार्यक्रम गर्दैछौं,’ उनले भने,‘पछि बृहत रूपमा चीन महोत्सव पनि गर्छौं ।’
कार्यक्रममा चिनियाँहरूको जीवनशैली, कला, संस्कृति र परम्पराबारे सम्बन्धित चलचित्र प्रदर्शनी गरिएको थियो भने चीनको कला, संस्कृति, जीवनशैली र आधुनिक चीनले हासिल गरेको भौतिक विकास, विज्ञान र प्रविधिका उपलब्धि झल्काउने सुन्दर तस्बिरको प्रदर्शनी पनि गरिएको थियो ।
प्रदेश १ मा चिनिया पर्यटक भित्र्याउन छलफल
previous post