इटहरी प्राथमिक स्वास्थ्य चौकीको बेथिति
इटहरी \ इटहरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक (एचए) र इटहरीको स्वास्थ्य विभाग प्रमुखले करारका अरु कर्मचारी हटाई आफ्ना मान्छेलाई जागिर खुवाएको पाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र इटहरीका प्रमुख भइसकेका र हाल इटहरी उपमहानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामचरण चौधरीले आफ्नी श्रीमती यामकला राईलाई उपमहानगरको स्वास्थ्य विभागले लिएको परीक्षामार्फत् अनमि पदमा जागिर लगाएका छन् ।
यस्तै, प्राथमिक स्वास्थ्य केन्द्रका प्रशासन प्रमुख तथा दलित कोटामा एचए रहेका रामकुमार धमलाले पनि आफन्तलाई सेटिङमा अस्थायी जागिर लगाएको भन्दै पुराना कर्मचारीले दुःखेसो गरेका छन् । धमलाले आफन्त सोनी विश्वकर्मालाई जागिरमा लगाएको तर पुराना कर्मचारी हटाउन खोजेकोमा पुराना ३ जना कर्मचारीको दुःखेसो छ ।
सिएमए संगीता कोइराला, ल्याब असिसटेन्ट कल्पना पौडेल, अनमि रिना चौधरी, सिएमए भावना थापामगर, सिएमए जानुका ढुंगाना, माली विमला थापामगर र २३ वर्षदेखि काम गरिरहेका कुचीकार पवन मल्लिकलाई हटाउन धमलाले षड्यन्त्र गरेको कर्मचारीको आरोप छ ।
यसरी भयो आफन्त भर्ना गर्ने खेल
स्थानीय निकायमा प्राथमिक स्वास्थ्य केन्द्र गएपछि आवश्यक थप कर्मचारी मागिएको थियो । तर, धमला र प्राथमिक स्वास्थ्य प्रमुख रुमि यादवले कार्यालयमा भएका कर्मचारीको विवरण स्थानीय सरकारलाई दिएनन् । यसरी विवरण नदिएपछि भएका पुराना कर्मचारीको पदमा पनि भर्ना खोलियो ।
असारमा भएका परीक्षामा पास भएर सोही पदमा नयाँ अनुहार आए । परीक्षा हुनु अगाडि पुरानाको जागिर कायम हुने भन्दै कर्मचारीलाई आश्वासन दिएका धमलाले नयाँ कर्मचारी आएपछि जागिर छोड्न कर्मचारीलाइ दबाब दिएको पुराना कर्मचारीले बताए ।
३ देखि ५ महिनासम्मको पुरानो तलब नपाएका उनीहरूलाई जागिर छाड्ने शर्तमा भने तलब दिने भनी धमलाले बताएको कर्मचारी बताउँछन् । वर्षौ स्वयंसेवी भएका र ३ हजारदेखि साढे ७ हजार तलब लिँदै आएका करारका कर्मचारी निकालेर स्थानीय सरकारले दिने १८ हजारदेखि २२ हजारको तलब दिन आफन्त राखिएको कर्मचारीको भनाइ छ ।
अस्पतालको लेखापरीक्षण नभएको र आम्दानी पनि पारदर्शी नहुने पुराना कर्मचारी बताउँछन् । प्रयोगात्मक कक्षामा आएका मेडिकल विद्यार्थी, डेलिभरी र डेन्टल आदिबाट आम्दानी राम्रो हुने भए पनि लुकाइने गरेको कर्मचारीले बताएका छन ।
चाँडै यो विषय नसच्चिए आफूहरू अख्तियारमा सप्रमाण जाने पनि एक कर्मचारी बताउँछन् । उनी भन्छन्, ‘सामान्य हिनामिना त थियो, तर पुराना र भोकभोकै स्वयंसेवा गरेर वर्षांै काम गरेका करार कर्मचारीको करार नथप्ने र नयाँ करारका कर्मचारीमा आफन्त ल्याउने काम भयो ।’
उता, यस बारेमा बुझ्न धमलालाई सो समाचार तयारका क्रममा फोन गर्दा उनको मोबाइल स्वीच अफ थियो । स्थानीय सरकारका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले भने आफ्नी श्रीमतीले परीक्षामा नाम निकालेर हाजिर भएको बताए । आफैँ छनोटमा बस्ने अनि श्रीमतीले नाम निकालेपछि शंका भयो नि भन्ने प्रश्नमा चौधरीले त्यस्तो नभएको जिकिर गरे ।
कर्मचारी हुँदाहुँदै नयाँ करार कर्मचारी ल्याउनु कानुनविपरीत ः अधिवक्ता ओझा
भएका कर्मचारीको पदमा अन्य अस्थायी कर्मचारी ल्याउनु गलत भएको अधिवक्ता निराजन ओझा बताउँछन् । उनी भन्छन्, ‘स्वास्थ्य शाखाले परीक्षा लिएर नयाँ करारका कर्मचारी लिएको रै’छ । जनशक्ति नभएका पदमा मात्रै त्यसरी लिनुपर्ने हो । तर, यो नियतवश भएको देखिन्छ । भएका पुराना कर्मचारीले काम गरेको पदमा नयाँ करार दरबन्दी ल्याउनु नै गैरकानुनी भएको देखियो ।’